साढे एक दशकयता संगीत क्षेत्रमा सक्रिय रहेका एकनारायण भण्डारी मूलतः गीतकार हुन् । खासगरी लोक आधारित गीतहरु लेख्ने उनले आफ्ना धेरैजसो गीतमा संगीत पनि दिएका छन् । हालसम्म २० भन्दा बढी एल्बम निकालिसकेका उनले लोकगीतका साथै आधुनिक गीतहरु पनि लेखेका छन् ।
लोकगीत लेखनमै केन्द्रित एकनारायणले आफूलाई मन पर्ने ६ लोक गायक छानेका छन् । आफ्नो करिअरको सुरुवातदेखि पछिल्लो समयसम्मका गायक रोजेका उनले तिनका विशेषता र कमजोरी यसरी सुनाएः
राजु परियार
नेपाली संगीत क्षेत्रमा गायकले आफ्नो एल्बममा मात्र गीत गाउने, अरुकोमा नगाउने विषम समयमा राजु परियार आएका हुन् । त्यो बेलामा खुला दिलले उनले सबैका गीत गाए । त्यसले गर्दा लोकदोहोरी क्षेत्रमा धेरै रचनाकार र लय बनाउनेहरुको जन्म गरायो । स्टुडियोमा गएपछि तुरुन्त भाका टिपेर एक दिनमा आठ वटासम्म गीत गाउन सक्ने उनको क्षमता हो । उनको घाँटी बस्यो, सुक्यो भन्ने प्रायः सुन्नुपरेन । स्टुडियोमा आएपछि गीत रेकर्ड नहोला कि भन्ने कुरै हुँदैनथ्यो।
उनको कमजोरी चाहिँ लो स्केलका गीतहरु कम गाउने । गलाले साथ नदिने । जति हाइ स्केलको गीत भयो, त्यति मज्जाले गाउने । राजुको स्वभाव मिलनसार छ । आफ्नो स्टान्डर्ड मेन्टेन गरेर हिँड्ने मान्छे हुन् । लोकगायक भन्ने बित्तिकै सीमित दायरामा खुम्चिएर बस्ने उनको बानी थिएन, देशको समग्र परिस्थितिप्रति जानकारी राख्थे।
बुद्धिसागर बस्याल
मेरो पहिलो गीत बुद्धिसागरले नै गाएका हुन् । अहिले प्रविधिको उपलब्धतासँगै अटो ट्युनिङले गायक–गायिकाको स्वर मिलाउन सकिन्छ । तर, बुद्धिसागरको राम्रो पक्ष भनेको उनी पर्फेक्ट सुरमा गाउन सक्ने गायक हुन् । अटो ट्युनिङको खाँचो नै नपर्ने । उनको समयमा उनले गाएको र अरुले गाएका गीतहरु सुन्ने हो भने अन्तर प्रस्ट रुपमा छुट्टिन्छ।
उनले आफ्नो समयमा लोकगीतमा नयाँ प्रयोग गर्ने जोखिम मोलेका हुन् । ‘बुढेसकालैमा’ जस्तो गीत त्यतिबेला नरुचाउन पनि सक्थे । आधुनिक खालका गीतहरु पनि कम्पोज गर्न सक्ने उनको क्षमता हो । त्यतिबेला कान्तिपुर टिभीको गीति कार्यक्रमको प्रस्तोता समेत भएर लोकगीतलाई माथि पुर्याए।
बुद्धिसागरको मुख्य कमजोरी त बजारमा अपडेट हुनै सकेनन् । यहाँ राम्रो नाम र दाम हुँदाहुँदै अलि बढी महत्वाकांक्षाले विदेश पलायन भए । उनी जत्तिको मान्छेले विदेशिनु आवश्यक थिएन भन्ने लाग्छ । उनी अहिले क्यानडामा छन्।
विमलराज क्षेत्री
विमलराज पर्वतका हुन् । त्यही भएर उनको लवजदेखि गायकीसम्ममा टिपिकल टोन पाइन्छ । मैले लेखेको ‘सुपारी चाम्रो’ गीत उनले गाएका छन् । उनी टिपिकल धार समातेर गाउँछन् । आवाज बोल्ड र उच्चारण पनि टाठो खालको छ । हाइ र लो दुवै किसिमका गीत गाउन सक्नु उनको खुबी हो।
उनको कमजोरी चाहिँ गाउँदा घाँटी घुमाउने हो । हुन त त्यो पनि लोकगीतको एउटा पन हो । त्यो रुचाउने श्रोताको पनि बेग्लै जमात छ । यो हिसाबले घाँटी घुमाउनेलाई उनको विशेषता पनि मान्न सकिएला । तर, सबै गीतमा त्यसरी स्वर घुमाउनु जरुरी हुन्न । जस्तै डान्सिङ मूडको गीतमा आवश्यक हुँदैन।
उनी बजार अनुसार अलि अपडेट हुन सकेनन् भन्ने लाग्छ । विमलराज जस्तो गायक व्यावसायिक भएर स्थापित भइराख्नुपथ्र्यो । तर, अहिलेको समयमा उनी निस्क्रिय जस्तो देखिएका छन् । हिजोका दिनमा उनका गीतहरु धेरै राम्रा छन्।
बद्री पंगेनी
बद्री पंगेनीले रोमान्टिक धारमा आफूलाई स्थापित गराएका छन् । हुन त उनले जनकलाकार भएर जागरणका गीतहरु पनि गाएका छन् । विशेष गरेर लोक दोहोरीलाई हेपिने ठाउँमा यो हाम्रो पन हो भन्दै यसको पक्षमा कुरा गर्ने गायक पनि हुन् उनी।
उनको स्वभाव हक्की छ । केही समयअघि उनको म्युजिक भिडियोमा एक जना नायकलाई अभिनय गराउने कुरा भएछ । ती नायकले यो गीतमा ‘हे’ भन्ने बोल छ कि छैन भनेर सोधेछन् । गीतमा ‘हे’ भाका नभइदिए हुन्थयो भन्ने नायकको आशय बुझेपछि पंगेनीलाई चित्त बुझेन।
उनको गीतमा हे भाका त थिएन । तर, त्यसरी सोधेर लोक दोहोरीलाई हेला गरेको बुझेपछि उनले नायकलाई तुरुन्तै ‘म तपाईंलाई भिडियोमा राख्दिनँ’ भन्दै प्रोजेक्टबाट आउट नै गरिदिए।
अर्को कुरा, पंगेनीले लोक दोहोरी क्षेत्रका गायक पनि स्टार हुन्छन् भन्ने सावित गरे । लोक दोहोरीको प्रतिनिधि गायकको रुपमा उनले आफ्नो पहिचान बनाए । उनको कमजोरी चाहिँ स्वर तान्नुपर्ने अलि लामा गीत अर्थात् आधुनिक प्रकृतिका गीतहरु गाउन नसक्नु हो । उनको घाँटी हाइ स्केलका गीतका लागि सुहाउँदो देखिन्छ।
रामजी खाँण
रामजी एकदम संघर्ष गरेर आएका गायक हुन् । उनी संगीत पनि गर्न जान्ने प्रतिभाशाली छन् । उनीसँग पनि मैले पहिला धेरै काम गरेको छु।
उनको गलामा विशुद्ध लोकभन्दा पनि लोक–पप र लोक–आधुनिक गीतहरु अझ बढी सुहाउँछ । उनको स्वरमा गीतको टोन एकदमै मीठो र अझ भन्नुपर्दा मायालाग्दो सुनिन्छ ।
तर, गायकीमा उनको थोरै कमजोरी छ । खिड्का लिने ठाउँमा केही कमजोरी देखिन्छ। उनी बढीजसो पश्चिमा शैलीको लोकगीत गाउँछन्।
कुलेन्द्र विश्वकर्मा
कुलेन्द्र आधुनिक गीत समेत गाउन सक्ने लोक गायक हुन् । फिलिङमा एकदम डुबेर गाउँछन् । स्वर जति पनि घुमाउन सक्नु उनको खुबी हो । कुनै गीत बनाएपछि उसले गाउन सक्दैन कि, गीत मर्छ कि भन्ने हुँदैन । एकदम न्याय गरेर गाउँछन्।
तर, उनको स्वर अलि मज्जाले खुलेको छैन । छ्याङ्ग नसुनिएर भित्रभित्रै घुमे जस्तो लाग्छ।
प्रस्तुतिः जोतारे धाइबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।