भूकम्पपीडितको घरघरमै पुगेर खोलियो बैंक खाता

नेपाल लाइभ | २०७४ भदौ २५ आइतबार | Sunday, September 10, 2017 ०९:५८:०० मा प्रकाशित

फलेवास (पर्वत)- भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधिको पहलमा घरघरमै पुगेर खाता खोल्न थालिएको छ।

पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्ण रुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको हो। 

कुश्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको सक्रियतामा वडा कार्यालयमा पछिल्लो समय बैंक खाता खोलिएको छ। ५० जना सर्वसाधारणको बैंक खाता खोलिएको कुश्मा नगरपालिका–१४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिए। 

भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्वसाधारणले गाउँमै बैंक खाता खोलिएपछि निकै खुसी भएका छन्।

भूकम्पपीडितले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन्। आर्थर डाँडाखर्कमा ६२ परिवारका घरगोठ पूर्णरुपमा क्षति भएका छन्। यसबाहेक पूर्ण रुपमा घरगोठ क्षति भएर पनि पूर्ण क्षतिमा नपरेका परिवारले वडा कार्यालयमार्फत गुनासो भरेका छन्। विवरण नमिलेका र सच्याउनुपर्ने परिवारलाई कुश्मामै खाता खोल्ने व्यवस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिए।

बैंकले भूकम्पपीडितको अहिलेसम्म ४ सयभन्दा बढी खाता खोलिसकेको कुश्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताए।रासस