वीरगन्ज- प्रदेश २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ। आर्थिक नगरी वीरगन्ज समेत चुनावी रौनकले तातेको छ। किन र कसरी जीर्ण/जर्जर बन्दै गइरहेको छ वीरगन्ज? मतदाताहरुको यो प्रश्नको जवाफ वीरगन्ज महानगरका प्रमुख उम्मेदवारसामु तेर्सिएको छ।
एउटा सुन्दर र समुन्नत वीरगन्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगन्जको खस्कँदो स्थितिप्रति चिन्तित छ।
मुलुकको लाइफलाइनका रुपमा रहेको वीरगन्जको समग्र विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेसबाट महानगर प्रमुखका उम्मेदवार अजय द्विवेदीले नेपालको गेटवेका रुपमा रहेको वीरगन्जको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।
पाँच वर्षसम्म वीरगन्ज नगरको उपप्रमुख भइसकेका द्विवेदीसँग समृद्ध वीरगन्ज बनाउने योजना भने धेरै छन्। उनले गाउँलाई वीरगन्ज सहरसम्म जोड्न सडक विकास, घर घरसम्म पुग्ने मोबाइल अस्पताल, दलित तथा महिलाको समग्र विकास, वीरगन्जलाई सुविधायुक्त सहर बनाउन, जलनिकासको स्थायी उपाय अवलम्बन गर्न, उद्योगी व्यापारीलाई सुरक्षाको प्रत्याभूति दिन आफूले प्रमुखमा उम्मेदवारी बताउँदै आएका छन्।
प्रमुख पदका अर्का उम्मेदवार नेकपा एमालेका बसुरुद्दिन अन्सारीले यहाँका बासिन्दालाई महानगर क्षेत्रभित्रका बासिन्दा हुँ भन्ने अनुभूति गराउनका साथै वीरगन्जको समग्र विकासका लागि नै आफ्नो उम्मेदवारी परेको स्पष्ट पारे।
सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रहवर अन्सारीले समग्र वीरगन्जलाई नयाँपन दिन आफूले उम्मेदवारी दिएको बताए। 'देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि देशको लाइफलाइनका रुपमा रहेको वीरगन्जको परिवर्तन हुन सकेको छैन,' उनले भने, 'यहाँको विकास नै मेरो पहिलो प्राथमिकता हो। नगर क्षेत्रभित्र बिजुलीको पोलमा बत्ती छैन तर विभिन्न पार्टीका झन्डा फहराइरहेका छन्। त्यहाँ अब झन्डा होइन उज्यालो दिने बत्ती राख्नुपर्छ।'
राजनीतिक क्षेत्रमा समेत अग्रणी मानिएको वीरगन्जको औद्योगिक एवं व्यापारिक क्षेत्र धराशायी भएको भन्दै महानगरका प्रमुख पदका अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले मधेसमा विद्यमान विभेदको अन्त्य, युवा स्वरोजगार, आर्थिक विकास, शिक्षा क्षेत्रको विकास, ऐतिहासिक सिरसिया नदीको संरक्षण आफ्नो प्रमुख एजेन्डा रहेको बताए।
राजपाका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियारले पनि युवालाई रोजगारीको अवसर, समुन्नत वीरगन्जको विकास, भ्रष्टाचार मुक्त वीरगन्ज बनाउन आफूहरुको उम्मेदवारी परेको बताउँदै आएका छन्। सुशासन र राजनीतिमा इमानदारीको अभाव रहेकाले सो संकटबाट मुक्त गर्न आफ्नो उम्मेदवारी दिएको उनीहरुको भनाइ छ।
वीरगन्ज महानगर क्षेत्रका ३२ वडामा १ लाख ८ हजार ५०१ मतदाता रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।