काठमाडौं- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरुलाई मंगलबारसम्म आवेदन दिन समय तोकेको छ। आयोगले सूचना प्रकाशित गर्दै आवेदनका लागि दलहरुलाई सीमा तोकेको हो।
समानुपातिकतर्फ माग लिन चाहने दलले अनिवार्य रुपमा आवेदन दिनुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार आवेदन नदिने दलले समानुपातिकतर्फ सिट पाउँदैनन्।
‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने हो वा निश्चित प्रदेशमा सहभागी हुने हो त्यो निर्क्यौल गर्न हामीले आवेदन खुलाएको हौँ’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘मतपत्र निर्माण लगायतका कार्य गर्नका लागि दलहरुले अनिवार्य रुपमा आवेदन बुझाउनुपर्छ।’
दलहरुले प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमध्ये कुनै एउटामा मात्र पनि सहभागी हुन पाउनेछन्। दुवैमा वा सहभागी हुने दलहरुले आवेदन पत्रमा खुलाउनुपर्नेछ।
आयोगले दलहरुलाई चुनाव चिह्न भने उपलब्ध गराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।