तस्बिरः विम क्यालर्ट
काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडान गर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको एयरबस ३२०-२०० जहाजमा चालकदलका सदस्यले हेलचेक्र्याइँ गरेको खुल्न आएको छ। एयरलाइन्सको फ्लाइट नम्बर २०५ को उडानमा आइपी (प्रशिक्षक पाइलट) मोहमद घानी र को-पाइलट उद्धव घिमिरेले हेलचेक्रयाइँ गरेको हुन्। तर सो जहाजले अहिले दिल्ली उडान गरिसकेको छ।
जहाज 'पार्किङ वे'बाट उडानका लागि 'ट्याक्सी वे' हुँदै 'रन वे'तर्फ जानुभन्दा पहिले गर्नै पर्ने प्रक्रिया (चेक लिस्ट) पूरा नगरी चालक दलका सदस्यले पार्किङ वेबाट जहाज 'पुस ब्याक' गरेका थिए। पुस ब्याक गरी जहाज उडानका लागि ट्याक्सी वे हुँदै रनवेतर्फ जाँदै गर्दा मात्रै पार्किङ वेमा नै पूरा गर्नै पर्ने आइआरएस (जहाजको सबै सिस्टम ठीक भए/नभएको देखाउने कम्प्युटर डाटाबेस प्रणाली) अन नभएको थाहा पाएका थिए।
यसपछि चालक दलका सदस्यले जहाजलाई ट्याक्सी वेमा नै रोकेर आइआरएस अन गरेका थिए। यसरी ट्याक्सी वे मा जहाज रोकेर आइआरएस अन गर्नु नेपाल एयरलाइन्सको अपरेसन म्यानुअल विपरीत हो।
अप्रेसन म्यानुअलअनुसार इन्जिन सुरु भइसकेपछि आइआरएस गर्न मिल्दैन।
यो प्रक्रिया जहाज पार्किङ वेबाट बाहिर निस्कनुभन्दा अघि नै नै हुनुपर्ने थियो। यसका कारण विमानस्थलको एयर ट्राफिकमा समेत असर पुगेको थियो। आइआरएस अन नगर्दा जहाजको पोजिसन, अवस्था, दिशा तथा गन्तव्यको बाटो देखाउने सिस्टम समेत थाहा हुँदैन।
के भयो?
दिल्ली उडानका लागि तयार भएको नेपाल एयरलाइन्सको जहाजले आइआरएस सिस्टम अन नगरी टेक अफका लागि पार्किङ वेबाट ट्याक्सी वे हुँदै रनवे तर्फ गएको थियो। जब कि कुनै जहाज पार्किङ वेबाट उडानका लागि रनवे तर्फ जाँदै गर्दा आइआरएस सिस्टमले पूर्ण रुपमा काम गरिसकेको हुनपर्छ।
आइआरएस सिस्टम पूर्ण रुपमा काम गर्न करिब १० मिनेटको सयम लाग्छ। तर, नेपाल एयरलाइन्सका पाकिस्तानी पाइलट मोहमद घानी र नेपाली को-पाइलट उद्धव घिमिरेको कमान्डमा रहेको जहाज आइआरएस सिस्टम नै अन नगरी जहाज पार्किङ वेबाट रन वेतर्फ लागेको थियो।
जब जहाज टेक अफको लागि रनवे तर्फ गएसकेपछि चालकदलका सदस्यले आइआरएस सिस्टम अन नभएको थाहा पाएका थिए।
यसपछि पार्किङ वेबाट रन वेतर्फ लागेको नेपाल एयरलाइन्सको जहाज पुनः ट्याक्सी वेमा रोकेर आइआरएस सिस्टम अन गरेको विमानस्थल कार्यलय स्रोतले जानकारी दिएको छ।
जहाजमा रहेका चालक दलका सदस्यलाई विमानस्थल टावरले जहाज उडान गर्न भन्दा केही समयका लागि नसक्ने जवाफ दिएका थिए। चालक दलका सदस्यले ग्राउन्ड प्रतिनिधिको कुराकानीमा ट्याक्सी वेमा पुगेर मात्रै आइआरएस अन गरेको बताएका थिए।
‘जहाजले आइआरएस सिस्टम अन नगरी उडान भरेको भए ठुलो दुर्घटना हुन्थ्यो। तर, रन वेतर्फ जाँदै गर्दा थाहा भएका कारण ठुलो दुर्घटनाबाट जोगिएको हो,' विमानस्थल स्रोतले भन्यो।
जहाजको आइआरएस सिस्टम नै अन नभएको थाहा भएपछि जहाज १० मिनेट रोकेर सिस्टम अन गरी उडान गरिएको स्रोतको भनाइ छ।
के हो आइआरएस?
आइआरएस भनेको इन्टेरियल रिफ्रेन्स सिस्टम हो। जहाज उडानका लागि पार्किङ वेबाट रन वेतर्फ जानुभन्दा पहिले गर्नै पर्ने प्रक्रिया हो। यसले नै जहाजको सम्पूर्ण सिस्टम ठीक भएको जनाउँछ। आइआरएस सिस्टम अन भई पूर्ण रुपमा काम गर्न १० मिनेट लाग्छ। आइआरएस अन नगर्दा जहाजको पोजिसन, अवस्था, दिशा तथा जहाज गन्तव्यको बाटो देखाउने सिस्टमसमेत जानकारी हुँदैन।
यो सिस्टम अन नभईकन जहाजलाई हलचल गराउन पाइँदैन। तर, नेपाल एयरलाइन्सको दिल्ली उडानका लागि तयार रहेको जहाज आइआरएस सिस्टम नै अन नगरी पाकिङ वेबाट निस्केर ३ सय मिटरभन्दा अगाडि पुगेको थियो।
यो उडानमा नेपाल एयरलाइन्सको को–पाइलट उद्धव घिमिरेले पहिलो उडान गर्दै थिए। घिमिरेको व्यवसायिक उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा निरीक्षक पाइलट डीआर निरौला र सेफ्टी पाइलट योगेश हिराचन पनि रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।