काठमाडौं– साहित्यकार एवं साहित्यिक धावक लक्ष्मण सापकोटाको ‘प्रथम नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड’लाई दमौलीमा भव्य स्वागत गरिएको छ।
शनिबार बिहान तनहुँ सदरमुकाम दमौलीमा आयोजित कार्यक्रममा सापकोटालाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तथा स्थानीय खेलकुद र साहित्यकारको टोलीले स्वागत गरेको हो।
सापकोटाले काभ्रेपलाञ्चोकको प्रसिद्ध तीर्थस्थल नमोबुद्धबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्मको दौड जेठ १८ गते नमोबुद्ध स्तुपाबाट सुरू गरेका थिए। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको पाँच सय किलोमिटर दुरी उनले १६ दिन लागएर दौडमार्फत पूरा गर्न लागेका हुन्।
दमौलीमा आयोजित कार्यक्रममा लायन्स क्लबले सापकोटालाई सम्मान पनि गरेको थियो। कार्यक्रममा बोल्दै सापकोटाले आफूले देशैभरि साहित्यिक जागरण ल्याउन र शान्तिको सन्देश प्रवाह गर्नका लागि नमोबुद्ध लुम्बिनी साहित्यिक दौड गरेको बताए।
धादिङको नौबिसे, धार्के लगायतका स्थानमा कार्यक्रम गर्दै दमौली पुगेको दौडले जनसमुदायमा उत्साह जगाएको छ।
सापकोटा दौडेर विभिन्न विद्यालयमा पुगी कविता वाचन गर्दै युवाहरूलाई जागृत गराउँदै अघि बढेका छन्। सापकोटाले यसअघि २०७३ असोजमा १८ दिन दौडेर मेची महाकाली साहित्यिक दौड पूरा गरिसकेका छन्।
उनले सोलुखुम्बु जिल्लाको इम्जात्से हिमाल र मेरापीक हिमालको सफल आरोहणसमेत गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।