वीरगञ्ज– पर्सा प्रहरीले नियमित चेकजाँचमा हतियारसहित पक्राउ परेका एक व्यक्ति पटके अपराधी रहेको खुलेको छ। प्रहरीले हतियार सहित शनिबार राति पक्राउ गरेको भारत बिहार पूर्वी चम्पारण थाना रक्सौल–२० मौजेका २५ वर्षीय मोहम्मद सम्सेर प्रहरीको रेर्कडमा डकैतीमा संलग्न आरोपी रहेको खुलेको हो।
पर्सा प्रहरी प्रमुख एसपी सुदिप गिरीका अनुसार पक्राउ परेका आरोपी २०६८ असार १४ मा दिउँसै माईस्थानमा रहेका अलंकार ज्वैलर्स लुटपाटमा संलग्न अभियुक्त हुन्। घटनास्थलबाटै पक्राउ परेका उनी डेढ वर्ष अघि मात्र सजाय भुक्तान गरेर रिहा भएका थिए।
‘निर्वाचनको मुखैमा आपराधिक पृष्ठभूमिका व्यक्ति हतियारसहित पक्राउ परेका छन, आरोपीसँग सलंग्न अन्यको खोजी भइरहेको छ,' एसपी गिरीले भने।
उनले आरोपीले चाडपर्वको अवसरमा लुटपाटका लागि हतियार ल्याएको प्रारम्भिक बयान दिएको बताए। प्रहरीले कटुवा पेस्तोल र गोलीसहित मोहम्मदलाई पक्राउ गरेको हो।
प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–७ रामटोलमा शनिबार राति उनले चढेको विआर२२एम ३२६३ नम्बरको मोटरसाइकलको सिटमुनि प्लास्टिकको झोलामा लुकाइछिपाई राखेको १ नाल कटुवा पेस्तोल र ३ राउन्ड गोली बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।