बंगलादेशमा डेन्टल पढ्दै गरेकी नेपाली छात्रा मृत फेला

नेपाल लाइभ | २०७४ पौष ५ बुधबार | Wednesday, December 20, 2017 ११:५३:०० मा प्रकाशित

ढाका- बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव फेला परेको हो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत थिइन्। मंगलबार अन्तरिक परीक्षा दिएर फर्केकी उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। विनिशा अहिले बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।

भतरा प्रहरी कार्यालयका इन्चार्ज कामरुजमानका अनुसार घटना मंगलबार दिउँसो २ बजेतिरको हो। ‘नेपालको विराटनगर भन्ने ठाँउकी विद्यार्थी हुन् वेनिशा,’ उनले भने, ‘दुई वर्षअघि डेन्टल पढ्न बंगलादेश आएकी थिइन्। हामी मृत्युको कारण खोजिरहेका छौं।’

वेनिशासँगै कोठामा बस्ने रोक्साका अनुसार वेनिशा परीक्षा सकिनुभन्दा आधा घन्टाअगाडि परीक्षा हलबाट निस्केकी थिइन्।

‘जब म होस्टालमा फर्केँ ढोकामा चुकुल लगाइएको थियो,’ रोक्साले भनिन्, ‘जति पटक ढोका ढकढक्याए पनि नखोलेपछि अर्को साँचोले ढोका खोलेँ। भित्र उनी झुन्डिएको देखेपछि अन्यत्र खबर गरेँ।’

रोक्साका अनुसार वेनिशा तीन दिनपछि नेपाल जाने योजनामा थिइन्। ‘करिब पाँच महिनापछि उनी आफ्न आमाबुबालाई भेट्न जाँदै थिइन्। तर उनले त संसारै छाडिन्,’ रोक्साले भावुक हुँदै भनिन्।