काठमाडौँ - दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकामा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय आप्रवास संगठन, स्विस सहयोग नियोग र युएन ओमनले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारीमा लैङ्गिक संवेदनशीलताबारे बहुसरोकार परामर्श’ कार्यक्रमका सहभागीले खाडी राष्ट्रमा जाने महिला कामदारको सुरक्षाका लागि स्पष्ट मापदण्ड बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा खाडीमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले विभिन्न समस्या भोग्नुपरेको बताउँदै सो समाधानका लागि गन्तव्य मुलुक र कामदार पठाउने मुलुकले लैङ्गिक संवेदनशीलता अनुगमन संयन्त्रको विकास गर्नुपर्ने सुझाव वक्ताहरुले दिएका छन्।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट गन्तव्य मुलुक कुवेत, लेवनान, बहराइन र जोर्डनमा गएका घरेलु कामदारलाई लक्षित गर्दै गरिएको सर्वेक्षण र अध्ययनका आधारमा तयार पारिएको सो कार्यपत्रमा ती मुलुकमा घरेलु महिला कामदारसम्बन्धी स्पष्ट कानून नहुँदा कामदारले विभिन्न समस्या भोग्नुपरेको उल्लेख छ ।
सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित द्विपक्षीय श्रम सम्झौता गरेर कामदार पठाउन पहल गर्न आवश्यक रहेकामा कार्यपत्रले जोड दिएको छ ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अधिकार र सुरक्षाका विषयमा नेपाल सचेत रहेको बताउँदै त्यसका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिए।
परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्लेले पटकपटक गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाका विषयमा कुरा राखे पनि धेरै मुलुकबाट अझै स्पष्ट जवाफ आइनसकेको बताए।
अन्तर्राष्ट्रिय आप्रवास संगठन, नेपालका नियोग प्रमुख पउल आई नोर्टोनले दक्षिण एसियाबाट खाडीमा घरेलु कामदारका रुपमा जाने संख्या ठूलो रहेको भन्दै उनीहरुको सुरक्षा र अधिकारका विषयमा यो क्षेत्रका देश संवेदनशील हुन आवश्यक रहेको बताए। दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खाडी राष्ट्रमा कार्यरत कूटनीतिक नियोगका कर्मचारी र श्रम सहचारीको उपस्थिति रहेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।