काठमाडौं- होटल हायातका कर्मचारीहरुको आन्दोलन चर्किएको छ। होटलले कर्मचारीहरुलाई काम गरेबापत उचित सेवा सुविधा दिन आनाकानी गरेपछि कर्मचारीहरुले बिहीबारदेखि आन्दोलन सुरु गरेका थिए।
बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्रै होटलका सम्पूर्ण ठप्प पारे पनि आज (शुक्रबार) २४सै घन्टा काम ठप्प पार्ने अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए।
लामो समयदेखि होटलले कर्मचारीहरुलाई काममा लगाउने तर सेवा सुविधा लगायत बिदा दिनसमेत आनाकानी गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन्। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुले पाउनुपर्ने बिदा लगायत अन्य सेवा सुविधा, कर्मचारीहरुको ग्रेड वृद्धि हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन्।
होटल हायातले नेपाली विदेशी नेपाली कामदारहरुलाई प्रतिस्थापन गर्न विदेशी कामदार ल्याएको र नेपाली कामदारहरुलाई हेप्ने तथा विस्तारै सेवा सुविधाबाट वञ्चित गरी कामबाट हटाउने उपाय रचेको आधिकारिक ट्रेड युनियनले आरोप लगाएको छ।
होटलको व्यवस्थापन पक्षले भारतीय कामदार ल्याई नेपाली कामदारलाई तिनै कामदारबाट हेप्न लगाउने प्रवृत्ति देखिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहाल बताउँछन्।
के छन् कर्मचारीका माग?
कर्मचारीहरुले समान स्केलका स्वदेशी विदेशी सबै कामदारको समान ज्याला हुनुपर्ने, स्वदेशमै दक्ष जनशक्ति हुँदाहुँदै विदेशी कामदार नियुक्त गर्न नपाउने, सम्पूर्ण मजदुर कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, हाल विद्यमान रहेको ९ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत वार्षिक वृद्धिदर कायम गर्नुपर्ने, एउटै पदमा ५ वर्ष वा सोभन्दा बढी काम गरेका कर्मचारीको स्वतः पदोन्नति हुनुपर्ने, यस्ता कर्मचारीहरुलाई वार्षिक ५ हजार तलब बृद्धि गरिनुपर्ने लगायत माग राखेका छन्।
के भन्छ होटल व्यवस्थापन?
होटल हायात रिजेन्सीका एचआर कोअर्डिनेटर सुरेश केसीले भने कर्मचारीहरुले अनावश्यक माग राखी आन्दोलन गरेको जिकिर गरेका छन्। व्यवस्थापन पक्षलाई अनावश्यक दबाब दिन आन्दोलन गरिएको उनले बताए।
‘हामी आधिकारीक ट्रेड युनियनको दबाबमा चल्न सक्दैनौं, कति दिन बन्द गर्नुपर्ने हो बन्द गर्छौं र अर्को विकल्प सोच्छौं,' उनले भने।
उनको भनाइ अनुसार कर्मचारीहरुलाई श्रम ऐन अनुसार सेवासुविधा दिन आनाकानी गर्दै होटल व्यवस्थापन पक्ष पन्छिन खोजेको देखिन्छ।
कर्मचारीहरुले व्यवस्थापन पक्षलाई नै अप्ठ्यारो पर्ने खालको माग राखेकाले सम्बोधन गर्न समस्या भएको एचआर कोअर्डिनेटर केसीको भनाइ छ। उनले थपे, ‘होटल हायातमा मात्र होइन सबै होटलमा विदेशी कामदारहरु छन्, खाँचो परेपछि स्वदेशी विदेशी केही पनि भनिँदैन।’
होटल हायातका जनसम्पर्क निर्देशक गोविन्द राम परियार पनि कर्मचारीहरुले सामान्य कुरालाई विकराल बनाएर आन्दोलनमा उत्रिएको बताए। उनले भने, ‘कर्मचारीहरु मनलाग्दी ढंगले काममा अनुपस्थित हुँदा सोधिएको स्पष्टीकरणको कुरालाई लिएर हड्तालमा उत्रिएका छन्।’
यसकारण भए कर्मचारी आन्दोलित
होटल हायातले श्रम ऐन वा ट्रेड युनियनसँगको सम्झौता अनुसार कामदारलाई सेवा सुविधा उपलब्ध गराउन आनाकानी गरेको भन्दै श्रम कार्यालय टेकुमामा दिएको उजुरीको विवाद श्रम कार्यालयमार्फत समाधान हुन नसकेपछि ०७४ कात्तिक १९ गते श्रम अदालतमा होटलविरुद्ध मुद्दा पर्यो।
श्रम अदालतले २०७५ मंसिर ९ गतेको फैसलामा होटलले कामदारहरुलाई तत्काल उचित पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने सुनायो। तर अदालतको फैसलापछि पनि ग्रेड वृद्धि लगायत विभिन्न सम्झौता कार्यान्वयन नभएको भन्दै श्रम कार्यालय टेकुमा उजुरी परेको छ।
जसमा श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुलाई विभिन्न सेवासुविधा उपलब्ध गराउन होटलले आनाकानी गरिरहेको आधिकारिक ट्रेड युनियनले ठहर गरेको छ।
सोही सम्बन्धमा २०७६ बैसाख ९ गते निवेदक पक्ष र व्यवस्थापक पक्षलाई श्रम कार्यालयले छलफल गराएको थियो। कार्यालयलाई लिखित रुपमा सहमति भएको पत्र पेस गर्नुपर्ने भन्दै श्रम कार्यालयले बैसाख २३ गते छलफलमा उपस्थितिका लागि पत्राचार गरेको थियो तर व्यवस्थापन पक्ष उपस्थित भएको छैन।
श्रम कार्यालयमा श्रम विवाद समाधानको छलफलका लागि होटलको व्यवस्थापन पक्षले आनाकानी गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। कर्मचारीहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म होटलका सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।