काठमाडौं- सेतो कपडामा सजिएका महोत्तरी जिल्ला भाङ्हा नगरपालिका-३ का बतिला खातुन मियाँ र हजरा खातुन हेर्दा ठ्याक्कै आमाछोरी जस्तै देखिन्छन्।
बतिला र हजराको नातासम्बन्ध अनुमानले छुट्याउन मुस्किल पर्छ।
बतिला खातुन मियाँ ६५ वर्षकी भइन्, भने हजरा ३५ वर्षकी भइन्।
बतिला र हजराको उमेर अन्तर आमाछोरी भन्न सुहाउने खालको पनि छ।
तर उनीहरु दुबैजना सुलमान धोवी मियाँका श्रीमती हुन्।
६५ वर्षीया बतिला खातुन मियाँ सुलमानकी जेठी श्रीमती हुन् भने ३५ वर्षीया हजरा खातुन कान्छी श्रीमती।
नाताले उनीहरु सौता–सौता।
रोजगारीका लागि साउदी पुगेका श्रीमान् सुलमानको मृत्यु पछि घरमा दुई जना मात्रै छन्।
१३ वर्षमा सुलमानसँग बिहे गरेकी बतिला
विवाह गर्दा बतिला १३ वर्ष र सुलमान १८ वर्षका थिए। विवाहपछि सुलमान खेतबारीको काम गर्थे। बतिला घरको काम गर्थिन्। दुखसुख समय गुज्रिँदै थियो।
विवाह गरेको लामो समयसम्म पनि सुलमान र बतिलाका सन्तान हुन सकेनन्।
‘उमेरले ४० कटिसकेपछि पनि सन्तान नभएको पीरले उहाँ मलाई छाडेर साउदी जानुभयो,’ सुलमानकी जेठी श्रीमती बातिला भन्छिन्।
सुलमान २७ वर्ष अघि २०४९ सालमा वैदेशिक रोजगारीका लागि साउदी पुगेका हुन्।
साउदी पुगेपछि पनि सुलमानले राम्रै काम पाएका थिए।
सुलमानले साउदीको पीकनिक स्पटमा लेभरको काम पाएका थिए।
सुलमान छुट्टीमा नेपाल आउने र फेरि उही कम्पनीमा साउदी फर्कने गर्न थाले।
०५६ सालमा हजरासँग दोस्रो विवाह
सन्तानको चाहानामा ०५६ सालमा साउदीबाट फर्किएको समयमा सुलमानले दोस्रो विवाह गरे १५ वर्षीया हजरासँग।
सुलमान हजराभन्दा ३८ वर्ष जेठा हुन्। हजरासँग विवाह गरेपछि केही समय नेपाल बसे सुलमान। कान्छी श्रीमती हजरासँग पनि सुलमानले मागी विवाह नै गरेका थिए।
हजराबाट पनि सन्तान भएनन्।
विवाह गरेको २० वर्षमा श्रीमान्सँग एकवर्ष मात्र
हजरासँग बिवाह गरेर एकवर्षसम्म सुलमान विदेश गएनन्। तर हजराबाट पनि सन्तान नभएपछि सुलमान फेरि विदेश हानिए।
साउदीको पुरानै कम्पनीमा जाने र समय थप गरी बस्ने गर्न थाले।
हजरा र सुलमानको विवाह भएको २० वर्ष बितिसक्दा पनि हजरा र सुलमानले सँगै बिताएको लामो समय भनेको एक वर्ष मात्रै हो। छोटो समयका लागि सुलमान बिदामा घर आउने र एक दुई महिना बसेर साउदी नै जान थाले सुलमान।
योभन्दा अगाडी ०७४ सालमा सुलमान छुट्टीमा नेपाल फर्किएका थिए।
७३ वर्षसम्म साउदीमै श्रमिकको काम
४६ वर्षको उमेरमा रोजगारीका लागि साउदी पुगेका सुलमान ७३ वर्षको वृद्धावस्थासम्म पनि साउदीको सोही पिकनिक स्पटमा लेबर काम गरिरहेका थिए।
कामप्रतिको लगाव र मेहनतका कारण रोजगारदाताका लागि विश्वासका पात्र बनेका थिए सुलमान।
उनलाई त्यहाँ परिवारको सदस्य जस्तै मानेर गर्न सक्ने हल्का काम लगाएर राखेको सुलमानका भाइ गफुर मियाँ बताउँछन्।
उनी भन्छन्, ‘सुलमान मेरो जेठो दाजु हुनुहुन्छ, दुई वटा विवाह गर्दा पनि छोराछोरी नभएपछि विरक्तिएर परदेश जानुभएको दाजु परदेशमै अस्ताउनु भयो।’
साउदीमै अस्ताए सुलमान
दोस्रो विवाहपछि पनि सन्तान नहुँदा चिन्तित बनेका सुलमान उनका श्रीमतिहरुलाई साउदीबाट नफर्किने बताउँथे।
तर पनि छुट्टीको समयमा बेलाबखत उनी नेपाल आउँथे।
‘साउदीमै मर्छु म भन्नु हुन्थ्यो, उहाँले भनेको जस्तै साउदीमै बित्नुभयो,’ सुलमानकी जेठी श्रीमती बतिलाले विगत सम्झँदै भनिन्।
केही समय अघिदेखि उनलाई मधुमेह रोगले च्यापेको थियो।
सोही रोगका कारण साउदीमा उनको ०७५ फागुन २९ गते उनको निधन भएको बताउँछिन् बतिला।
अन्तिम संस्कार पनि साउदीमै
२७ वर्षदेखि साउदीमै परिवारको सदस्यजस्तै भएर काम गरिरहेका सुलमानको मृत्युको खबर आयो।
रोजगारदाताले सुलमानको शव नेपाल नपठाई त्यहीँ आफ्नै परिवारको सदस्य मानेर मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिदिने खबर गरेपछि सुलमानका दुवै श्रीमतीहरु सहमत भए।
सुलमानकी कान्छी श्रीमती हजरा भन्छिन्, ‘सन्तान नभएपछि मरे परदेशमै मर्छु भनेर हिड्नु भएको थियो उहाँ, परिवारको सदस्य मानेर हाम्रै परम्पराअनुसार कम्पनीकै मान्छेले नै अन्तिम संस्कार गरिदिने भएपछि हामीले पनि सहमति जनायौँ।’
सुलमानको अन्तिम संस्कार साउदीमै गर्न उनका दुबै श्रीमती सहमत भएको सिफारिसपत्र परराष्ट्र मन्त्रालयमार्फत साउदीमा पठाएपछि मुस्लिम परम्परा अनुसार सुलमानको अन्तिम संस्कार साउदीमै भयो।
‘उहाँसँग विवाह त भयो, न त सँगै बस्न पाइयो, न त सन्तान नै भए। आशै आशमा सकियो जिन्दगी,’ सुलमानकी कान्छी श्रीमती हजराले दुखेसो पोखिन्।
भनिन्छ नि, सौताको रिस सबैभन्दा खतरा हुन्छ, तर उनीहरु सौता-सौता नभएर आमाछोरी जस्तै मिलेर बसेका छन्।
आफूबाट सन्तान नभएपछि सुलमानकी जेठी श्रीमती बतिलाले नै दोस्रो विवाह गर्न सल्लाह दिएकी थिइन्।
सहमतिमै दोस्रो विवाह गरेकाले उनीहरुबीच कलह कहिल्यै भएन।
श्रीमान् बितेपछि पनि उनीहरु दुवैले दिदीबहिनी जस्तै मिलेर बस्ने सोच बनाएका छन्।
‘जिन्दगी के छ र झगडा गर्नु!,' उनीहरु दुवैको विचार एउटै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।