फाइल तस्बिर।
काठमाडौं- विज्ञहरुले भूमिहीनहरुलाई उनीहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन्।
भूमि अधिकारकर्मी जगत देउजाले वर्षौंदेखि भोगचलन गर्दै आएका भूमिहीनहरुलाई सो जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिए।
आइतबार सिंहदरबारमा बसेको संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी समस्या समाधान गर्न पनि भूमिहीनहरुले भोगचलन गर्दै आएको जग्गा उनीहरुलाई दिन उचित हुने तर्क गरे।
देउजाले मोहियानी हक सुनिश्चित गर्न छुट्टै आयोगको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
भूमि तथा सहकारी विज्ञ केशव बडालले संविधानको मौलिक हकमा भूमिहीन किसानहरुलाई तत्काल जग्गा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित हुने गरी कानुन बनाउन सरकारसँग आग्रह गरे।
उनले कुनै पनि बहानामा भूमिहीनहरुको संवैधानिक अधिकार कटौति गर्ने काम नगर्न पनि सरकार र संघीय संसदलाई सचेत गराए।
मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय भूमि सुधार आयोगका अध्यक्षसमेत रहेका बडालले जग्गाको हदबन्दी तोक्ने काममा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
विज्ञहरुले संघसंस्थाको नाममा भोगचलनका लागि लिइएको जग्गा व्यक्तिले उपयोग गरिरहेको उल्लेख गर्दै त्यस्ता जग्गा पनि मातहतमा ल्याउन सरकारसँग माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।