नयाँ दिल्ली (एजेन्सी)- हलिउडका चर्चित निर्माता हार्वी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको कैयौं आरोप लागेपछि यौन उत्पीडनको विषयमा बहस अगाडि बढेको छ। तर, बलिउड फिल्म उद्योगमा हुने गरेका यौन उत्पीडन, कास्टिङ काउच जस्ता मामिलामा कहिले पनि खुलेर कुरा भएको पाइँदैन।
बलिउडमा कास्टिङ काउचबारे कुनै नाम किन सार्वजनिक गरिँदैन त? यसबारे अभिनेत्री राधिका आप्टेले भनेकी छिन्, 'नाम नखुलाउनुको कारण डर हो। किनकि जो व्यक्ति करिअरको विषयमा महत्वाकांक्षी छन्, उनीहरु डरपोक छन्। उनीहरु के सोच्छन् भने, यदि उनीहरुले कोही प्रतिष्ठित व्यक्तिको नाम लिए भने आफूमाथि कस्तो फसाद आउला? म यसबारे हरेकले मुख खोल्नुपर्छ भन्नेमा जोड दिइरहेकी छु।'
राधिकाका अनुसार, यौन उत्पीडन ग्लामर र मनोरञ्जनको दुनियाँमा मात्र नभई समाजमा हरेक क्षेत्रमा हुन्छ। उनी भन्छिन्, 'यौन उत्पीडन हरेक दोस्रो घरमा हुन्छ। यसै कारण यो फिल्म उद्योगको मात्र विषय होइन। भारतका साथै संसारका हरेक ठाउँमा बाल दुर्व्यवहार, घरेलु हिंसा हुने गर्छ।'
यौन उत्पीडनको सिकार महिला मात्र नभई पुरुष, कलिला बालबालिका र जो कोही हुने उनको ठम्याइ छ। 'यसको कुनै सीमा छैन। मानिसहरु आफ्नो प्रभाव हरेक तहमा जमाउन खोज्छन्', उनी भन्छिन्।
यो अवस्थालाई बदल्नु जरुरी रहेको उनको धारणा छ। उनले भनेकी छिन्, 'मलाई लाग्छ, तपाईंले 'नाइँ' भनेपछि परिवर्तनको सुरुवात हुन्छ, चाहे तपाईंको महत्वाकांक्षा जतिसुकै ठूलो किन नहोस्! तपाईंले बहादुर बन्न र आफ्नो क्षमता अनि प्रतिभामा विश्वास गर्न जरुरी हुन्छ। 'नाइँ' भन्नुस् र बोल्ने गर्नुहोस्, किनकि यदि एक जना मात्र बोल्यो भने उसलाई कसैले सुन्दैन, तर त्यही कुरा दस जनाले बोले भने त्यो कुरा धेरैले सुन्नेछन्।'
राधिकाले सन् २००५ मा फिल्म 'वाह! लाइफ हो तो ऐसी' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनी अक्षय कुमारको नयाँ फिल्म 'प्याडमेन' मा देखिनेछिन्। फिल्म २०१८ को जनवरी २६ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।