काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताको बयान लिन थप ३ जनालाई बोलाएको छ।
बिहीबार सार्वजनिक सूचना निकालेर अख्तियारले ७ दिनभित्र बयानको लागि उपस्थिति हुन सूचना निकालेको हो। पूर्वसचिव शारदा प्रसाद त्रितालको आयोगले ‘भू-माफिया’ किटान गरिएका मूख्य अभियुक्त शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित हुपेन्द्रमणि केसीलाई बयानका लागि अख्तियारले बोलाएको हो।
बुधबार ८६ जनाको नाम प्रकाशित गरेको अख्तियारले बिहीबार भने मुख्य आरोपितका लागि सूचना निकालेको हो। २ सय ९९ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा ल्याउनका लागि ढकाल र सुवेदीले भूमिका खेलेका थिए।
उनीहरुसँगै जग्गा हात पारेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका पुत्र नविन पौडेलको नाममा भने सूचना निकालिएको छैन। साथै, ढकाल र सुवेदीसँग जग्गा ‘हडप्न’ लागेका भाटभटेनी डिमार्टमेन्टल स्टोर्स्का सञ्चालक मीनबहादुर गुुरुङको नाम पनि प्रकाशित सूचीमा राखिएको छैन।
सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनका लागि मुख्य भूमिका खेलेका ढकाल नेकपा नजिकका व्यक्ति हुन्। नवलपरासीबाट काठमाडौं बसाइ सरेका ढकाल कुमारी बैंकका पूर्व सञ्चालक समेत हुन्। आयुर्वेदिक चिकित्सा विज्ञानमा एमबिबिएस गरेका ढकालले बिरामीको चेकजाँच गर्ने कार्यमा भने कहिल्यै लागेनन्।
ढकालसँगै जग्गा हड्पने कार्यमा संलग्न सुवेदी डिल्लीबजार मालपोत कार्यालयका लेखापढी व्यवसायी थिए। जग्गाको कामको लागि मालपोत धाइरहने ढकालसँग सुवेदीको भेट भएको थियो। सोपश्चात् जग्गा अनियमितता गरेको बताइन्छ।
विज्ञका रुपमा लोकमानसिंह कार्कीले अख्तियार भित्राएका हुपेन्द्रमणि केसी विवादस्पद व्यक्ति हुन्। अवकाशप्राप्त उपसचिव केसीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई पनि प्रभाव पार्न सफल भएका थिए। भूमि व्यवस्थापन विज्ञका रुपमा अर्यालले केसीलाई नियुक्ति दिएकी थिइन्। विवादपछि अर्यालले केसीलाई हटाएकी थिइन्।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।